Public Pana
हनी ट्रयाप गरेको अभियोगमा  युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख बिगो भराउने फैसला

हनी ट्रयापको कसुरमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ ।  

जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ ।  

अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो ।  काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो । 

सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगा माइती भएकी देवी थापालाई यसअघि काठमाडौं जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहर भएपनि उनी जेलमै थिइन् ।  

एक जुनियर प्रहरी अधिककृतलाई हनी ट्रयापमा पारी १७ लाख रकम असुल गरेपछि देवी थापा र सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update