Public Pana
गण्डकीका मुख्यमन्त्रीलाई आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि नगरसभामा तरंग

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आफ्नै कार्यकर्ताले कालाेपट्टी देखाएपछि नगरसभामा तरंग ल्याएकाे छ । उनलाई पहिलो कार्यक्रममै आफ्नै कार्यकर्ताले कालो पट्टी देखाएका हुन् । मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्ट म‌ंगलबार पोखरा महानगरको नगरसभामा सहभागी हुन पुगेका अधिकारीलाई एमाले तर्फकै दलित समुदायका जनप्रतिनिधिहरुले कालोपट्टी देखाएका हुन् । जसले नगरसभाभित्र तरंग ल्याएकाे हाे । 

महागरका एकजना वडाध्यक्षले आफ्नै वडा सदस्यलाई जातीय रुपमा विभेद गरेको आरोप छ । पोखरा २४ का अध्यक्ष भरत अधिकारीलाई जातीय विभेदको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । सोही मुद्दालाई लिएर दलित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् । 

त्यसको मारमा परे, मुख्यमन्त्री अधिकारी । मुख्यमन्त्रीले बोल्ने समयमा दलित समुदायका जनप्रतिनिधिले कालोपट्टी बाँधेर सम्बोधन गरेका हुन् । विरोध स्वरुप उठेका उनीहरुको नेतृत्व गरिरहेका दीपक घिमिरे विश्वकर्मालाई उपमेयर मन्जुदेवी गुरुङले बोल्न समय दिइन् । उनी सीधै रोष्ट्रममा पुगे र ध्यानाकर्षण पत्र बुझाए । 

एक्कासि विरोध प्रदर्शन गरेपछि सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री अधिकारीले सम्वादबाट समस्या समाधान गर्न सकिने भन्दै विरोधलाई खासै वास्ता गरेनन् । उनले आफु पनि न्यायको पक्षमा रहेको प्रतिक्रिया दिए । उद्घाटन समारोह सकिएपछि अदालती प्रक्रियामा प्रवेश भइसकेको विषयमा बखेडा झिकेर प्रमुख अतिथि माथि नै अपमान गरेको भन्दै कांग्रेसका जनप्रतिनिधिहरुले भने उक्त कार्यको विरोध गरेको छ । कार्यसूचीमै नभएको विषय एमालेले झिकेको भन्दै उनीहरु बहिष्कार गरेर सभाबाट बाहिरिएपछि नगर सभा नै अनिश्चित कालका लागि स्थगित भएको छ ।

कांग्रेसका नेता दिवसमान प्रधानांगले कार्यसूचीमा नभएका कुरा निकालेर अनुशासनहिन काम गरेको आरोप लगाए । ‘यसको आफ्नै गरिमा र मर्यादा छ । साथीहरुले सबै बिर्सिनुभयो,’ उनले भने, ‘घटनाबारे मेयर र उपमेयरले जवाफ दिनुपर्छ । जवाफ नदिँदासम्म हामी बहिष्कार गर्छौं ।’ त्यसपछि मेयर धनराज आचार्यले अर्को महिना मात्रै सभा बस्ने भन्दै सभा स्थगित गरिदिए । 
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update