Public Pana
हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान सुपर फोरमा

पाकिस्तानले सानदार बलिङ प्रदर्शन गर्दै हङकङलाई ३८ रनमा अल आउट गर्दै १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । योसँगै टि२० एसिया कप २०२२ को सुपर फोरमा पुग्ने चार टोलीको निर्धारण लागेको छ ।

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा ३८ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले १३ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए । किन्चित शाहले १० बलमा १ चौकासहित ६ रन बनाए । प्रमुख ब्याटर बाबर हयात शून्यमा आउट भए ।

हङकङको यो टि२० आईमा यो सबैभन्दा कम योगफल हो । यसअघि २०१४ को टि२० विश्वकपमा नेपालसँग ६९ रनमा भएको अल आउट सबैभन्दा कम योगफल रहँदै आएको थियो । त्यस्तै पाकिस्तानको यो टि२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि पाकिस्तानले टि२० आईमा सर्वाधिक ठूलो जित वेस्टइन्डिजविरुद्ध २०१८ मा १ सय ४३ रन थियो ।

पाकिस्तानका स्पिनर शादब खानले २.४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नवाजले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर नसिम शाहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे ।

खुशदील शाह १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे । अन्तिम ओभरमा तीव्र गतिका बलर एजाज खानलाई खुशदील शाहले चारछक्कासहित कुल २९ रन जोड्दै पाकिस्तानलाई विशाल योगफलमा पुयाए ।

खानले पहिलो र दोस्रो बल लगातार डट राखे । त्यसपछि भने उनी सम्हालिन सकेनन् । उनले तेस्रो बलमा छक्का, चौथो बलमा वाइडसहित पाँच रन खर्चिए ।

त्यसपछि लगातार तीन छक्का खर्चिदै अन्तिम चार बलमा कुल २९ रन दिए । तेस्रो विकेटका लागि खुशदील र रिजवानले २३ बलमा ६४ रनको साझेदारी गरेका थिए ।

दोस्रो विकेटका लागि जमान र रिजवानले ८१ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । जमान ४१ बलमा ३ चौका र २ छक्कासहित ५३ रनमा आउट भए । कप्तान बाबर आजम स्पिनर एहसान खानको तेस्रो ओभरको पाँचौं बलमा ९ रनमा कटएण्ड बोल्ड आउट भए ।

हङकङका एहसान खानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । समूह ए बाट भारत दुबै खेलमा जितका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तान दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनायो ।

समूह बी बाट अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएका थिए । सुपर फोरमा यी चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ । हरेक टोलीले एक अर्काबीच खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update