Public Pana
विद्युत नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र खडा हुने

ऊर्जा व्यापार विकास गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र बन्ने भएको छ। गत महिना बंगलादेशले त्रिपक्षीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो।

नेपालले स्वीकार गर्दै टिप्पणी पठाएसँगै तीन देशबीच संयन्त्र खाडा गर्न तीन देश तयार भएका छन्। बंगलादेशले नेपालसहितको त्रिपक्षीय संयन्त्र बनाउनेगरी एकैपटक दुवै देशलाई प्रस्ताव पठाएको थियो।

ऊर्जा व्यापार र विकासमा त्रिपक्षीय संयन्त्र सकारात्मक भएको भन्दै नेपालले स्वीकार गरेको थियो भने भारत पनि त्रिपक्षीय संयन्त्र खडा गरेर अन्तरदेशीय प्रसारण लाइनसमेत खडा गर्न तयार भएको छ। 

बंगलादेश, भुटान, भारत र दक्षिण एसियाका (बीबीआईएन) उपक्षेत्रमा स्वच्छ ऊर्जा बजार फराकिलो बनाउने सन्दर्भमा तीन देशले ऊर्जा क्षेत्रमा सहयोग प्रवर्द्धन गर्नेगरी गत महिना बंगलादेशले प्रस्ताव पठाएको थियो।
नेपाल, भारत र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न ऊर्जासचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाइएको छ। अब भने नेपाल–भारत–बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न सचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्र बनाउने प्रक्रिया अघि बढाइएको हो।

परराष्ट्र मन्त्रालयमार्फत नेपाल र बंगलादेशका ऊर्जा मन्त्रालयले यस्तो संयन्त्र बनाउने प्रक्रिया अघि बढाइएको हो। बंगलादेशको प्रस्तावअनुसार ऊर्जा क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न त्रिपक्षीय संयुक्त कार्यदल (जेडब्लुजी) र सम्बन्धित मन्त्रालयका सचिवहरूको नेतृत्वमा क्रमशः सहसचिव र संयुक्त सञ्चालन समिति (जेएससी) गठन गरिनेछ।
संयुक्त संयन्त्रले अवरोध हटाएर तीन राष्ट्रबीच ऊर्जा सहयोग प्रवर्द्धन गर्नेछ।

बंगलादेशको प्रस्तावअनुसार तीन देशबीच विद्युत व्यापार सहजीकरण र यसका लागि प्रसारण पूर्वाधारको विकास त्रिपक्षीय संयन्त्रले सम्बोधन गर्ने प्रमुख एजेन्डा हुनेछ।

१० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजान सहमत भएको भारत अन्तरदेशीय प्रसारणलाइन विस्तार र बंगलादेशसम्म बिजुली निर्यातको बाटो दिनसमेत सहमत भइसकेको छ। 

भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न भारतको विद्युत आयात–निर्यात निर्देशिकाबमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिटै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक सहमति भइसकेको छ। 

नेपाल र बंगलादेशबीच ६ सय ८३ मेगावाटको सुनकोशी–३ जलविद्युत् आयोजना निर्माणमा भारतलाई संलग्न गराउने समझदारी भएको छ। रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा रहेको यस आयोजनालाई विकास गर्ने विषयमा नेपाल र बंगलादेशबीच लामो समयदेखि कुराकानी हुँदै आएको छ।

बंगलादेशले पनि भारतको जीएमआर समूहलाई नेपालस्थित ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५ सय मेगावाट बिजुली खरिद गर्ने सम्झौता गर्न इच्छुक रहेको भन्दै आशयपत्र जारी गरेको छ। हालसम्म नेपाल, भारत र बंगलादेशसँग ऊर्जामा काम गर्ने त्रिपक्षीय संयन्त्र छैन। 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update