Public Pana
आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि : प्रचारप्रसार गर्न नपाइने

यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।

मौन अवधिमा उमेदवारको पक्ष-विपक्षमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठी, प्रचारप्रसार लगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने उल्लेख गरेको छ ।

आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि यही माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

यो निर्वाचनमा सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update