Public Pana
नेपालको तराईमा ‘जय श्री राम’ 

भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा भएको छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गरेका हुन् ।

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदा उत्सव मनाउन नेपालको तराईका धेरै स्थानीय तहले बिदा दिएका छन् । रूपन्देहीको रोहणी गाउँपालिकाले बिदा दिएको छ । बिदासँगै माछा मासु, र मदिरा सेवन, बेचविखन तथा पशु काटमार नगर्न आग्रह गरिएको अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

रूपन्देहीकै ओमसतिया गाउँपालिकाले सोही अनुसारको सूचना जारी गर्दै स्थानीय बिदा दिएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, महाराजगञ्ज नगरपालिका, मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र मायादेवी गाउँपालिकाले पनि स्थानीय बिदा घोषणा गरेका छन् । 

तराईमा शीतलहर चलिरहँदा जाडो बिदासमेत नदिएका पालिकाहरूले अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठामा स्थानीय बिदा दिइरहेका छन् ।

अयोध्यामा हुन लागेको प्राण प्रतिष्ठाको अनुष्ठानप्रति नेपालको तराई–मधेशका हिन्दूहरूमा उत्सवको माहौल देखिएको छ ।

स्थानीय सरकारले आफूखुसी बिदा त गरेकै छन् हिन्दूहरूको बाहुल्य रहेको दक्षिणी तराईका स्थानीय समुदायमा पनि उत्साह छाएको हो । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update