Public Pana
संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने सभामुख घिमिरेको भनाइ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने बताएका छन्।
आज आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँगको छलफलपछि पत्रकारसँग कुराकानीका क्रममा घिमिरेले यस्तो बताएका हुन्।

उनले संघीय संसद्का महासचिवको हकमा आफूहरूले आफ्नो काम गरेको बताउँदै सिफारिस भइसकेकाले अब नियुक्ति पनि टुंगिने आशा व्यक्त गरे। 

‘हामीले संघीय संसद्को महासचिवका लागि नाम सिफारिस गरेका छौँ। हाम्रो सिफारिसलाई टुंग्याउने ठाउँबाट टुंग्याउला। छिट्टै टुंगिने कुरामा म विभिन्न कोणबाट आशावादी छु। यसमा अन्य कुरा केही छैन’,  घिमिरेले भने।

मंसिर २५ गते तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि २७ मा पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव बनाइएको थियो।

मंसिर २५ मै महासचिवमा नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई अड्काइदिएका छन्। महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ।

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्को महासचिवमा सिफारिस भएको थियो।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता थिए। उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिव नियुक्त गरिएको थियो। 
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update