Public Pana
सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल

काठमाडाै-  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो। 

रविविरुद्धको अनुसन्धान अघि बढ्ने संकेत करिब १ महिना अघि नै गृहमन्त्री श्रेष्ठले दिएका थिए। बालकुमारीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि जवाफ दिन भन्दै पुस १६ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको थियो। 
गृहमन्त्रीको निर्देशनपछि अहिले सीआईबीले जीबी–रवि जोडिएको सहकारी घोटालाको अनुसन्धान अघि बढाएको छ।

रवि–गृहमन्त्रीको नोकझोकको १० दिनपछि पुस २५ गते गृहमन्त्रीको नेतृत्वमा गृहसचिव, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, सीआईबीका एआईजी, एसएसपी, सहकारी विभागका रजिष्ट्रार, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो। उक्त बैठकमा पनि सहकारीका समस्या हल गर्नेबारे छलफल भएको थियो। 


बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई जीबी–रवि जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। 

गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले अहिले जीबी–रवि जोडिएको भनिएको सहकारीको फाइलमाथि अनुसन्धान अघि बढाएको छ। गृहमन्त्रीको निर्देशन अघिसम्म जीबी–रवि जोडिएको भनिएको सहकारी घोटालाको अनुसन्धान सीआईबीले गरेको थिएन। सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर कारबाही प्रक्रिया समेत अघि बढाएका थिए। 

तर गृहमन्त्री श्रेष्ठको निर्देशनपछि अहिले जीबी–रवि जोडिएको सहकारी घोटालाका फाइल सीआईबीले तानेर अनुसन्धान गरेको छ। उच्च प्रहरी स्रोतले  भन्यो, ‘जीबी–रवि जोडिएका सहकारीका फाइल अहिले जिल्लाबाट तानेर सीआईबीले अनुसन्धान अघि बढाएको छ। अहिले फाइल अध्ययनकै क्रममा छन्।’

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update