Public Pana
पूर्व सांसद इच्छाराज तामाङकाे सम्पति शुद्धीकरणा मुद्दा फैसला हुदै

 सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा अन्तिम सुनुवाइ केही दिनदेखि चलिरहेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा उनको मुद्दाको बहस अन्तिमतिर पुगेको छ। आइतबार सम्भवत: उनको फैसला  हुनसक्ने विशेष अदालतले जनाएको छ। 

तामाङको तर्फबाट उनको कानुन व्यवसायीले बहस अन्तिमतिर पुर्‍याएका छन्। अब सरकारी वकिलले जवाफी बहस गर्ने अनि फैसला सुनाउने अदालतलको तयारी छ। 

गत मंगलबारबाट तामाङको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। मुद्दा हेर्दाहेर्दै राखेर सुनुवाइ भइरहेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जना विरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो। 

विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।  

 

विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।

तामाङका छोरीहरु प्रतीक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।

विभागले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए। आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनीमार्फत कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको बनाउने गरिएको छ। 

 

तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन्।

तमाङको सहकारी ठगी सम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध उनले दिएको निवेदन भने सर्वोच्च पुगेको छ। उच्च अदालत पाटनले पनि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन्।  

सीआईबीमा १ हजार ५०० भन्दा धेरै निक्षेपकर्ताले ५ अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए। पूर्व सांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियम विपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए। ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो।

जिल्ला अदालत काठमाडौंमा मुद्दामाथि बहस भइरहँदा तामाङले न्यायाधीशलाई घुस दिन खोजेको प्रकरण पनि सार्वजनिक भएको थियो। उनले कानुन व्यवसायीमार्फत न्यायाधीशसँग घुसको अफर गरेको अडियो समेत सार्वजनिक भएको थियो।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update