Public Pana
टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी काम छिट्टै अघि बढने बताएका छन् ।

असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढ्ने बताएका हुन् ।

उनले संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पु¥याउने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।

उनले भने, ‘आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको र पूरा नगरे राम्रो हुँदैन भनिसकेको छु ।’

यसैबीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुस, युक्रेन जस्ता ठाउँमा नेपालीहरू सेनामा भर्ती भएको जानकारी प्राप्त भएको र जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान भनेका हुन्।

राज्यको नीति, संविधानको मर्म तथा लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत सेनामा भर्ती नहुन उनले आग्रह गरेका छन्।

‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ।

विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन,’ दाहालले भने, ‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति, संविधानको मर्म र हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत भर्ती हुन जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ।’

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update