Public Pana
माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा

माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।  

वित्तीय विवरणको अनुसूची १२ मा पुँजीगत खर्च र लगानी शीर्षकमा उक्त जग्गा खरिद गरेको जनाइएको छ । माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव एवं कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट जग्गा खरिद गरेको जानकारी दिए । ‘मुख्यगरी लेबीको आम्दानीबाट जग्गा खरिद गरिएको हो,’ उनले भने । हाल पेरिसडाँडामा माओवादीको केन्द्रीय कार्यालय संचालन हुँदै आएको छ ।

पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको हो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनिसकेको छ ।

माओवादीले २०६५ सालमा २ रोपनी ८ आना जग्गासहितको भवन राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले गरेको लिलामीबाट सकारेको थियो । तत्कालीन राष्ट्रिय उद्योग व्यापार महासंघको अध्यक्ष शिव कट्टेलको सक्रियतामा उक्त जग्गा र भवन माओवादी मजदुर संगठनको नाममा किनिएको थियो । माओवादी केन्द्रीय कार्यालय भएको भवन भीमबहादुर ढाक्वाले होटल संचालन गरेका थिए ।

माओवादी द्वन्द्वका कारण होटल व्यवसाय ठप्प भएपछि वाणिज्य बैंकले उक्त भवन र जग्गा लिलाम गरेको थियो । ‘भवन र जग्गा लिलामीमा परेपछि ढाक्वा मेरो सम्पर्कमा आएका थिए,’ कट्टेलले भने, ‘मेरो पहलमा पेरिसडाँडामा मजदुर संगठनका नाममा किनिएको थियो । त्यसबेला अनेक अप्ठ्याराबीच पार्टी अफिसका लागि जग्गा खरिद गर्न सकिएको थियो ।’ त्यतिबेला माओवादीले सहकारीबाट ऋण र चन्दाबाट २ करोड ७४ लाखमा २ रोपनी ८ आना जग्गा बैंकबाट सकारेको थियो । भवन र जग्गा खरिदका लागि ललितपुरको एक सहकारीबाट ऋण लिइएको थियो । समयमै ब्याज र किस्ता तिर्न नसकेपछि सहकारीले पार्टी कार्यालय लिलाम गर्ने सूचनासमेत प्रकाशित गरेको थियो । पार्टीकै बदनाम हुने भएपछि स्रोत जुटाएर सहकारीको ऋण तिरिएको थियो ।

कोषाध्यक्ष ढकालले केन्द्रीय कार्यालय साँघुरो हुँदै गएकाले जग्गा थपेको बताए । ‘आवश्यकताअनुसार जग्गा किनिएको हो,’ उनले भने ।  पछिल्लो समय थप ८ आना जग्गा किनेपछि अब माओवादी केन्द्रीय कार्यालयको नाममा ५ रोपनी जग्गा भएको छ । माओवादीले ०६५ मा भवन र जग्गा किनेपछि पेरिसडाँडाको नामले चर्चित भएको हो ।

होटल संचालनका लागि बनाइएको भवनमा पार्टी, मजदुर संगठन, वाइसीएललगायत कार्यालय रहेका छन् । माओवादीले आगामी दिनमा ५ रोपनी जग्गामा अत्याधुनिक केन्द्रीय कार्यालय बनाउने योजना बनाएको छ ।

माओवादीले शान्ति प्रक्रियामा आएपछि नेताहरुले व्यक्तिगत सम्पत्ति जोड्न नहुने नीति बनाएको थियो । तर ०६४ को संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो पार्टी बनेपछि पहिलो पटक सरकारको नेतृत्व गर्‍यो । त्यहीबेला उसले नेता तथा कार्यकर्ताले खुलारुपमा घरजग्गा जोड्नु अघि पार्टी कार्यालयका लागि भवन जग्गा किनेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update