चालु आर्थिक वर्षको ६ महिनामा श्रम स्वीकृती लिएर बैदेशिक रोजगारमा जानेको संख्या ३ लाख ४३ हजार पुगेको छ ।
बैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रतीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९ -८० को सोहि अवधिमा बैदेशिक रोजगारका लागि विभागबाट ४ लाख १३ हजारले श्रम स्वीकृती लिएका थिए ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष ७१ हजारको कमी देखिएको हो ।
उप्रतीले भने,'पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।’
चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन र भदौभन्दा मङ्सिर र पुसमा सङ्ख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै यूएई जाने रहेका विभागले जनाएको छ।
विभागका अनुसार संयुक्त अरब इमिरेट्स युएईका लागि १६ हजारले श्रम स्वीकृती लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया ८ हजार, कुवेत ३ हजार र कोरिया १ हजार जना गएका छन् ।