Public Pana
बलिदानी दिवस : ६३ सहिद परिवारलाई मधेश सरकारको आर्थिक सहयोग

छैटौँ बलिदानी दिवसका अवसरमा मधेश प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने ६३ जना सहिदका परिवारलाई आर्थिक सहयोग गरेको छ। 

मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानको आयोजनामा शुक्रबार पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले सहिदका आश्रित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नगदसहित कम्बल तथा कदरपत्रसहित सहिद परिवारलार्य सम्मान गरिएको थियो। 

त्यससँगै मधेश आन्दोलनका घाइते एक सय ३० जनालाई अवस्था हेरेर एकदेखि दुई लाख रुपैयाँसम्म आर्थिक सहायता प्रदान गरिएको मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी र्दिए।

विसं २०६२÷२०६३ सालको जनआन्दोलनपछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशीता समावेश नगरेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो। 

पहिलो चरणको २१ दिने आन्दोलन र त्यसयता विसं २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउँदै आएको छ। 


बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदासमेत दिएको थियो।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update