Public Pana
विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बस्नु , किन आउने ?

मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार ‘विद्यार्थीसँग केपी ओली’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा करिब एक घण्टासम्म बोलेका एमाले अध्यक्ष ओलीले अधिकांश समय आइटी र विद्यार्थीको भविष्यका विषयसँग सम्बन्धित रहेर धारणा राखे । 

 

 

आफू प्रधानमन्त्री भएको बेलामा अब नेपाललाई डिजिटल नेपाल बनाउनुपर्छ भनेर उक्त कार्यको सुरुवात गरेको ओलीले सुनाए । विश्वविद्यालयले भौतिक पूर्वाधारतर्फ गरेको उल्लेख्य प्रगति र आइटीको क्षेत्रमा गरेको रुपान्तरणको उनले प्रशंसा गरे ।

ओलीले मन्तव्यकै क्रममा आफू प्रधानमन्त्री भएको बेलामा एक जनाले आफूलाई सोधेको कुरा सुनाए । ‘मैले भ्रष्टाचार गर्नु हुँदैन भनेर बोलिरहन्थेँ,’ उनले भने, ‘एकजनाले सोधे– के तपाईँले भनेजस्तै साँच्चै भ्रष्टाचार गर्नु हुन्न ? मैले– हो गर्दिनँ भनेँ ।’

मान्छे सभ्य हो, त्यसैले असल भएर राम्रा काम गर्नुपर्ने ओलीले बताए । उनले भने, ‘मेरो विद्यार्थी भाइबहिनीलाई यही आग्रह छ ।’

ओलीले विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयको रुपान्तरणमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे । त्यसपछि ओलीले आफ्नो दैनिकी र जिन्दगीबारे कुरा सुनाए ।

‘मेरो जिन्दगी निकै कष्टपूर्ण तरिकाले अघि बढ्यो,’ उनले भने, ‘दुई पटक त किड्नी फेरेँ तर, पनि मेरो दैनिकी देखेर कतिपय मान्छे अनौठो पनि मान्छन् । म २४ घण्टा लगातार काम गर्न सक्छु । दुःख मलाई गाह्रो चिज लाग्दैन । अर्को कुरा, म कहिल्यै पनि चिन्तित भएर बस्दिनँ । बिरामी भइहाल्ने हो कि भनेर पहिलानै चिन्ता गरे मान्छे बिरामी भइहाल्छ नि !’

 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update