Public Pana
शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन– समतामूलक समृद्ध विश्व स्थापनामा निर्णायक भूमिका खेलौँ

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले समतामूलक समृद्ध विश्वको स्थापना गर्न नामले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।  

युगाण्डाको काम्पलामा सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। 

‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे। ‘नाम आफैँमा सहयोगलाई प्रगाढ बनाउने थलो हो। सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ’, उनले भने। 

समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै देशले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनुपर्ने बताए। 

‘नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ। त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो’, प्रधानमन्त्री दाहालले प्रचण्डले भने। 

नामको शिखर सम्बेलनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सङ्क्रमणकालीन न्यायको प्रसंग पनि उल्लेख गरे। नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्‌का लागि अनुकरणीय रहेको बताए। 

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्‍याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। 

‘द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ। दृढ विश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापीरूपमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ’, प्रधानमन्त्रीले भने।  

 

नेपालले आफ्नो विकास प्रयासमा धेरै चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे। 

नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित रहेको स्पष्ट पारे। ‘असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो’, प्रधानमन्त्री प्रचण्डले भने। 

शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्ने जनाउँदै प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ नेपालीको जीवन पद्धति बनेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘यी मूल्य, मान्यता हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन्।’

नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताए। ‘मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ’, प्रधानमन्त्री प्रचण्डले भने।  

प्रधानमन्त्री प्रचण्डले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताए। 

‘हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो। यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ। तर उनीले ठूलो पीडा भोगिरहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने। 

उनले हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको बताए। प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको विनाशकारी प्रभावका कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीका स्वरुप र यसले कैयनको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडालाई नजिकबाट महसुस गरिएको बताए। 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update