Public Pana
राष्ट्र बैंकले गर्यो १ खर्ब ३१ अर्ब निक्षेप संकलन

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याएयता कर्जा प्रवाहको रफ्तार बढ्न थालेको छ। 

समीक्षा अगाडिसम्म बैंकिङ प्रणालीबाट कुल ४९ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ ३ गतेसम्म बढेर ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। समीक्षायता नै ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो। 

राष्ट्र बैंकले गत मंसिर २२ गते ल्याएको मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर एक प्रतिशत बिन्दुले ब्याजदर घटाउने नीति लिएसँगै कर्जा प्रवाह बढेको हो। प्रणालीमा तरलता थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले मंसिरयता निरन्तररुपमा निक्षेपसँगै कर्जाको ब्याजदरसमेत घटाइरहेका छन्।

नीतिगत दर घटेसँगै कतिपय बैंक तथा वित्तीय संस्थाले मंसिरमै दुई पटकसम्म निक्षेपको ब्याजदर घटाएका थिए। बैंकहरूले पुस र माघमा पनि ब्याजदर घटाएका छन्। योसँगै बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर थप घट्दै जाने देखिएको छ। 

राष्ट्र बैंकले घरजग्गा र सेयर बजारको जोखिमभार घटाएसँगै प्रणालीबाट कर्जाको माग निरन्तररुपमा बढिरहेको छ। उक्त दुई शीर्षकको कर्जामा जोखिमभार घटेसँगै प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता थपिएको छ।
कर्जा प्रवाहसँगै निक्षेप संकलन पनि आक्रमक ढंगबाट बढेको छ। समीक्षापश्चात प्रणालीमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

समीक्षाअगाडि ५९ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप प्रणालीमा रहेको यस अवधिमा बढेर ६१ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। 
निक्षेप र कर्जा प्रवाह बढेसँगै बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ८०.३९ प्रतिशत पुगेको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब ८७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

प्रणालीमा अधिक तरलता भएसँगै बैंकहरूको अन्तरबैंक ब्याजदर ३.३६ प्रतिशत कायम गरेको छ।
अधिक तरलताका कारण निरन्तररुपमा अन्तर बैंक ब्याजदर घटेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासबाट निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले घटाएर ३ प्रतिशतमा कायम गरेको छ। 

चालु आर्थिक वर्षको सुरुवातबाटै अन्तरबैंक ब्याजदर निरन्तररुपमा घट्दै गएपनि मंसिर ६ गतेसम्म प्रणालीबाट तरलता खिचेको थिएन। अन्तरबैंक ब्याजदर नघटाइ राष्ट्र बैंकले यस अवधिमा सरकारलाई करिब ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। 

अन्तरबैंक ब्याजदर निक्षेप संकलन दरभन्दा तल आएमा राष्ट्र बैंकले प्रणालीबाट तरलता खिच्ने गर्दछ भने अन्तरबैंक ब्याजदर नीतिगत दरभन्दा माथि गएमा प्रणालीमा तरलता पठाउने गर्दछ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update