Public Pana
बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीको आन्दोलनले आज छैटौं दिन पनि आकस्मिक बाहेकका सेवा ठप्प छन् ।

वृत्ति विकासको मागसहित ६ दिनयता बिहान र दिउँसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा हिजो (बिहीबार) भएको छलफल सकारात्मक भए पनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएको कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले जनाइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो ।

काठमाडौंमा छलफल सकारात्मक भएको बताइए पनि चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update