Public Pana
सिङ्गापुरमा मन्त्रीविरुद्ध   दुर्लभ भ्रष्टाचारको मुद्दा  दायर भएपछि विश्वभर तर‌ग 

एजेन्सी - सिङ्गापुरमा एक पदासीन मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि स्वच्छ सरकार र सुशासन रहेको ठानिने उक्त देश स्तब्ध भएको छ।  
सुब्रमण्यम ईश्वरनले "सरकारी सेवकका रूपमा लाभ प्राप्त" गरेकोसहित २७ वटा आरोपमा आफू निर्दोष रहेको दाबी गरेका छन्।  सिङ्गापुरमा पहिलो पटक 'फर्मूला वन ग्र्यान्ड प्रिक्स' आयोजना गर्दा ईश्वरनले देशको पर्यटन उद्योगको नेतृत्व गरेका थिए।  ईश्वरनले बिहीवार मन्त्रिपरिषद्‍बाट राजीनामा दिएका छन्।
उनले सन् २०२३ को जुलाईमा उक्त मुद्दा सुरु भएयता आफूले लिएको तलब र भत्ता फिर्ता गर्ने बताएका छन्।

सुब्रमण्यम ईश्वरनविरुद्ध कस्तो अभियोग?
ईश्वरनलाई जुलाई २०२३ मा बिदामा पठाइएको थियो। तर उनले प्रत्येक महिना ८,५०० सिङ्गापुर डलर (८ लाख ४० हजार रुपैयाँभन्दा बढी) रकम पाउने गरेका थिए।

सांसदका रूपमा उनले प्रत्येक महिना १५,००० सिङ्गापुर डलरभन्दा बढी रकम पाउँथे।  सिङ्गापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब प्राप्त गर्नेमध्ये पर्छन्।  सरकारी वकिलहरूले बिहीवार सार्वजनिक गरेको अभियोगपत्रमा ईश्वरनविरुद्ध २७ वटा अभियोग लगाइएको देखिन्छ।
त्यसमा उनले घरजग्गा कारोबारी ओङ बेङ सेङको व्यापारमा फाइदा पुग्ने गरी सघाएको र त्यसबापत १,६०,००० सिङ्गापुर डलर ( झन्डै १.५८ करोड रुपैयाँ) बराबरको हवाई टिकट, होटलको शुल्क र ग्र्यान्ड प्रिक्सका टिकटहरू लिएको आरोप लगाइएको छ।

अदालतमा उपस्थित हुँदै ईश्वरन

उनलाई वेस्ट इन्ड म्यूजिकल्स र फुटबल खेलका टिकटहरू पनि लिएको आरोप लगाइएको छ।  सिङ्गापुरमा सन् २००८ मा एफ वन रेस भित्र्याउन प्रमुख भूमिका खेलेका ओङसँगै गत वर्ष ईश्वरन पक्राउ परेका थिए।  ईश्वरनमाथि लगाइएका सबै अभियोगमा ओङ घुस दिने पक्षका रूपमा आरोपित छन्। 
यो मुद्दामा किन सर्वत्र चासो?
ईश्वरन सिङ्गापुरको सत्तारूढ पीपल्स एक्शन पार्टीका वरिष्ठ नेता हुन्। राजनीतिमा आउनुअघि उनी कैयौँ प्रमुख कम्पनीका निर्देशक थिए।

सरकारमा रहँदा उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार मन्त्रालय र पछिल्लो पटक यातायात मन्त्रालयमा काम गरेका थिए। तर व्यापार र उद्योग मन्त्रालयको लामो कार्यकालमा उनले चर्चा कमाए।

सन् २००० र सन् २०१० को दशकमा सिङ्गापुरको पर्यटन क्षेत्रलाई अघि बढाउन ईश्वरनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यो समयमा सरकारले ठूलो स्रोत र साधन परिचालन गरेको थियो र अर्बौँ डलर बराबरको विदेशी लगानी क्यासिनो, होटल, पर्यटकीय आकर्षणका केन्द्र र एफ वन रेसजस्ता कार्यक्रममा गरेको थियो। एफ वन रेसका विजेताहरूलाई ट्रफी दिने कार्यक्रममा पनि उनी नियमित रूपमा सहभागी हुन्थे।

सिङ्गापुरका प्रधानमन्त्रीले के भने?
ईश्वरनविरुद्धको मुद्दा पीपल्स एक्शन पार्टीका लागि एउटा अर्को लज्जाजनक विषय बनेको छ। लामो समयदेखि भ्रष्टाचार र अनैतिक व्यवहारप्रति आफ्नो कडा अडान रहेको बताउने गरेको उक्त दल एकपछि अर्को राजनीतिक विवादमा मुछिएको छ।

सिङ्गापुरका प्रधानमन्त्री ली सियान लुङले बिहीवार ईश्वरनको राजीनामा स्वीकृत गर्दै उक्त मुद्दामा "कठोरतापूर्वक" व्यवहार गरिएको बताए।

“म पार्टी र सरकारको निष्ठा र इमान्दारी तथा भ्रष्टाचारविरोधी हाम्रो चरित्रलाई अक्षुण्ण राख्न प्रतिबद्ध छु। सिङ्गापुरका नागरिकहरूले त्योभन्दा कम चाहेका छैनन्।”  लीलाई एउटा पत्र लेख्दै ईश्वरनले आफू निर्दोष रहेको र सबै अभियोग अस्वीकार गर्ने जनाएका छन्।

सिङ्गापुरमा सबैभन्दा पछिल्लो पटक सन् १९८६ मा एक मन्त्रीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिएको थियो। त्यस बेला राष्ट्रिय विकासमन्त्री ते चियाङ वानलाई घुस लिएकोमा अनुसन्धान गरिएको थियो। तर अभियोग लाग्नुअघि नै उनले आत्महत्या गरेका थिए। विविसी नेपाली सेवावाट
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update