Public Pana
आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो। 
उक्त समितिमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन्। 
धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम उक्त समिति गठन गरिएको हो। 

अब समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। 

अर्थमन्त्रीले उक्त सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद् सिफारिसमा परेका तीन जनामध्येबाट कुनै एक जनालाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने धितोपत्रसम्बन्धी ऐनमा उल्लेख छ।

बोर्डको अध्यक्ष बन्न ८ जना आकांक्षी छन्।

अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, कार्यकारी डा. नवराज अधिकारी र कृष्ण पोखरेल, नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउद, तत्कालीन बिमा समिति (हाल बिमा प्राधिकरण) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, बोर्डकै पूर्वकार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी छन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update