Public Pana
यू–१९ विश्वकपको  आजवाट शुरु,  बलियाे मनाेबलसहित उपस्थिति जनाउँदै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । 

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।  

 

 

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । 

प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया रहेका छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्यान्ड परेका छन् ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् ।

यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन ।

समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।  

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । 

त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् । 

यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू–१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई–दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो । 

नेपाल र वेस्ट इन्डिजबिचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । औपचारिक अभ्यास खेलअघि खेलिएको दुईवटा अनौपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । 

भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारतले सन् २०००, सन् २००८, सन् २०१२, सन् २०१८ र सन् २०२२ मा यू–१९ विश्वकप जितेको थियो । अस्ट्रेलियाले पनि तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८८, सन् २००२ र सन् २०१० मा यू–१९ विश्वकपको उपाधि चुमेको थियो । 

पाकिस्तानले हालसम्म दुईपटक यू–१९ विश्वकपको उपाधि उचालेको छ । पाकिस्तानले सन् २००४ र सन् २००६ मा उपाधि जितेको थियो । यसका अतिरिक्त बंगलादेशले सन् २०२०, दक्षिण अफ्रिकाले सन् २०१४, वेस्ट इन्डिजले सन् २०१६ र इङ्गल्यान्डले सन् १९९८ मा यू–१९ विश्वकपको उपाधि उचालेका थिए । 

यू–१९ विश्वकपको तेस्रो संस्करणमा नेपाली टोलीले पहिलो पटक सहभागिता जनाएको थियो । सन् २००० मा प्रतियोगिताको तेस्रो संस्करण श्रीलङ्कामा आयोजना भएको थियो । त्यतिबेला नेपालले विनोद दासको कप्तानीमा यो विश्वकप खेलेको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update