Public Pana
मुलुकको सुरक्षा स्थितिबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी

मुलुकको सुरक्षा अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी लिएका छन्।  रक्षा मन्त्रालयमा बिहीबार उनले मुलुकको सुरक्षा स्थितिका बारेमा छलफल गरेका हुन‍्।

छलफलमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधान सेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकलगायत सहभागी थिए।

रक्षामन्त्रीसमेत रहेका खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका हुन्। 

कार्यवाहक प्रधानमन्त्री खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन उनले आग्रह गरेका थिए। जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन उनको आग्रह छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले सञ्चालित गतिविधिलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए। 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update