Public Pana
एनसेल सेयर खरिद-बिक्री सम्बन्धी छानबिन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाइने

टकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद–बिक्री सम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ। गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्। उनले एनसेल सेयर खरिदको विषयमा सरकारले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भए पनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको बताइन्।

मन्त्री शर्माले सरकारले दिएको समय अवधि माघ १५ गते भित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिइन्। सेयर खरिद-बिक्री सम्बन्धमा समिति अध्ययन तथा छानबिनको क्रममा रहेको उनले बताइन्। उनले समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानबिन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरुको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको बताइन्। 

 

मन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनको चरणमा रहेको बताइन्। उनले कार्यान्वयनको चरणमा भए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको स्वीकार गरिन्। उनले एमडीएमएस प्रणाली देशको लागि आवश्यक भएको सरकारको धारणा रहेको बताइन्।

उनले भनिन्,‘एनसेल प्रकरणमा चुडामणि शर्माको नेतृत्वको समितिले अध्ययन र छानबिनको काम गरिरहेको छ। समितिलाई एक महिनाको अवधि दिइएको थियो। एक महिनाको अवधिमा प्रतिवेदनको पूर्ण रुपमा तयार नपारेकाले माघको १५ गतेसम्म समय थप गरिएको छ। उहाँहरुले माघको १५ गते भित्रै प्रतिवेदन बुझाउने गरी समिति जुटेको छ।’ 

 

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update