Public Pana
छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण

जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्‍पष्टीकरण सोधेको छ।

कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले पाँच जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका हुन्।

प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरूषोत्तम खड्काले कारबाहीका लागि स्पष्टीकरण नसोधिएको बताए।

‘हाम्रोमा कारबाहीका लागि मात्रै स्पष्टीकरण सोध्यो भन्ने धारणा छ। यो भनेको कुनै विषयमा स्पष्ट हुनको लागि गरिने हो,’ उनले भने, ‘६ महिनासम्म बिदा नलिई काम गरेकाले किन नलिइएको हो? केही समस्या हो कि, परिवारमा केही समस्या पो भएर हो कि भनेर सोधेका हौं, कारबाहीका लागि होइन।’

प्रहरी नियमावलीअनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ। 

तर कामको चापका कारण प्रहरी कर्मचारीले बिदा कम पाउने अवस्था छ। जसकारण मनोबल घट्ने समस्या देखिएको हुँदा काममा थप ऊर्जा कायम गर्ने उद्देश्यले यसरी स्पष्टीकरण सोधिएको डिएसपी खड्काले बताए। 

‘कतिपय कर्मचारी बिदा लिइरहने र कतिपयले पाउने पनि नलिने देखिन्छ। बिदा लिएर आएपछि कर्मचारी पनि फ्रेस हुने भएकाले यसो गरिएको हो,’ उनले भने, ‘पाँच जनालाई केही समय अघि नै सोधेका थियौं। उहाँहरू पछि बिदा बसौला भनेर बसेको पायौं, बिदा पनि दिइसकेका छौं।’

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update