Public Pana
अलैँचीले पायाे उच्च मूल्य  , प्रतिमन ७७ हजारमा विक्री

ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो । 

मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च भएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए । फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहेका रेग्मीले चलनचल्तीको अलैँची प्रतिमन ७७ हजार रुपियाँसम्ममा कारोबार भएको जानकारी दिए  ।

उनका अनुसार केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएको थियो । स्थानीय बजारमा प्रतिमन ७७ हजार रुपियाँले कारोबार भएको अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उहाँको भनाइ छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित  भएका छन् ।

अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार÷पाँच वर्षयताकै राम्रो हो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । 

स्थानीय व्यवसायीका अनुसार पछिल्लो चार÷पाँच वर्षभित्र प्रतिमन न्यूनतम २० हजार र अधिकतम ३५ हजार रुपियाँसम्ममा मात्र अलैँचीको कारोबार भएको छ ।  

यस वर्ष भने नयाँ अलैँची बजारमा निस्कन थाल्दा नै प्रतिमन ६० देखि ६५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । स्थानीय व्यवसायीका अनुसार मुख्य याम (सिजन) सुरु भएपछि अलैँचीको सुरुको मूल्य घटेर प्रतिमन ५३ देखि ५८ हजार रुपियाँसम्म आइपुगेको थियो । अलैँचीको सो मूल्य घटबढ हुँदै निकै लामो समयसम्म कारोबार भएकोे व्यवसायी कमल बरालले बताए ।    

हिजोआज अलैँचीको मूल्य निरन्तर वृद्धि भइरहे पनि धेरै अलैँची बिक्री गरिसकेको किसानले बताएका छन् । त्यस्तै यो वर्ष अलैँची उत्पादनमा पनि कमी आएको उनीहरूको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेक्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्क रहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update