
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको केन्द्रीय बैंकले आज ४ माघमा पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
बुधबार ३० अर्बको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान भएको ३७ अर्ब ७० करोडको आवेदन परेको थियो ।
राष्ट्र बैंकले कटअफ ब्याजदर ३.०९८८ प्रतिशत ब्याजदर कायम गर्दै २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो ।
बुधबारको निक्षेप संलकन उपकरणमा बैंकहरुले अधिकतम ३.२९९९ प्रतिशत र न्यूनतम २.८९४४ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थिए ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत रहेको र सोही दरलाई आधार मानेर २४ अर्ब २० करोड मात्रै तरलता खिचेको हो ।
बुधबार बोलकबोलमा ल्याएअनुसारको तरलता नखिचेपनि ४ माघमा पुनः ९ अर्ब ७० करोड रुपैयाँको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ ।
बुधबार पनि २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।