Public Pana
प्रधानमन्त्री कप : बागमतीद्धारा आर्मी पराजित 

स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ ।

टस जितेर ब्याटिङको निर्णय लिएको आर्मी सूर्यको घातक बलिङ सामु निक्न नसकेपछि २७.१ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भीम सार्कीले १८ रन बनाए भने विवेक यादव ११ रनमा अविजित रहे । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सोमपाल कामी र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।

हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् ।

९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा भेट्टायो ।

बागमतीलाई जिताउन प्रतिश जीसीले नटआउट २१ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका उनले २४ बलमा १ चौका र १ छक्का हानेका थिए । पाँचौ नम्बरमा ब्याटिङमा आएका अशोक पौडेले २१ रनमै अल आउट भए ।

आर्मीको सोमपाल कामीले ३ तथा सहाब आलम र जितेन्द्र मुखियाले समान २ विकेट लिए ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update