Public Pana
अपडेट : बुवा नै भरतको हत्यामा संलग्न रहेको छोरीको बयान 

सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का भरत बुढाको हत्या भएको भन्दै उनका बुवाविरुद्ध किटानी जाहेरी परेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मृतक भरतका बुवा मयाराम बुढाको नाममा भरतका काका तेजबहादुर बुढाले बुधबार दिउँसो किटानी जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले मृतक भरतका अंकल नाता पर्ने तेजबहादुर बुढाले मयारामविरुद्ध जाहेरी दिएको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘भरतका अंकल तेजबहादुर बुढाले भरतका बुबा मयाराम बुढाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिनुभएको छ। अब यो मुद्दा दर्ता गरेर भरतको शव पोष्टमार्टमसहित अनुसन्धान सुरु हुन्छ।’

प्रहरीका अनुसार मंगलबार नै मृतककी बहिनीले बुवाले नै दाजुको हत्या गरेको प्रारम्भिक बयान दिएकी थिइन्।
घटनास्थलमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार भरतका बुवा पुस २७, २८ गतेतिर भारतबाट नेपालमा आएका थिए।

त्यसपछि घरमा पुगेर घटना लगत्तै फरार भएको खुलेकाले उनीमाथि नै शंका गरिएको थियो। 

घटना
मंगलबार बिहान १ बजेको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का २१ वर्षीय भरत बुढाको शव घरनजिकै रहेको खबर प्रहरीलाई पुग्यो।

घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुग्यो। भरतको शव हेर्दा हत्या गरेर घरनजिकै परालमा फालेको आशंका ग-यो। 

प्रहरीले मृतक भरतका शरीरका विभिन्न भागमा गाहिरो चोट देखेपछि थप अनुसन्धानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली, प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको नेतृत्वमा थप टोली परिचालित गरिएको थियो। 

प्रहरीलाई भरतको शव शंकास्पद लागेपछि प्रहरीको थप अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले भरतकी १९ वर्षीया बहिनीलाई समेत सामन्य चोट लागेको छ। 

भरतलाई धारिलो हतियार प्रयोग गरेर घाइते बनाएर हत्या गरेको र उनकी बहिनीलाई समेत चोट लागेकाले आफ्नै बुवाबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update