Public Pana
बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी वृत्तिविकासको माग गर्दै ३ दिनदेखि आन्दोलनमा छन् । त्यसैमा थपिएको छ– धरान उपमहानगर प्रमुखकै आन्दोलन । आन्दोलनकारीकै समर्थनमा प्रमुख हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रतिष्ठान झन् अस्तव्यस्त बनेको छ । मारमा परेका छन् बिरामी । 

पाँचथरका विपिन राई प्रोस्टेटको समस्याले पीडित आफ्ना बुबाको उपचारका लागि तीन दिनदेखि अस्पताल धाइरहेका छन् । तर, न जँचाउन पाएका छन्, न उपचार नै । कारण– अस्पतालका चिकित्सक तथा कर्मचारी बहिरंग–ओपीडी सेवा बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा विपिन के गर्ने, कसो गर्ने अलमलमा छन् । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडीमा दैनिक करिब २ हजार भन्दाबढी बिरामी आउँछन् । तर, चिकित्सक र कर्मचारीको आन्दोलनका कारण बिरामी उपचारबाट वञ्चित भएका छन् । प्रतिष्ठानमा अहिले आकस्मिक र डायलाइसिस सेवा मात्र चलिरहेको छ । 

आन्दोलनका कारण स्वास्थ्य सेवासँगै पढाइ पनि ठप्प छ । प्रतिष्ठान र आन्दोलनरत चिकित्सक–कर्मचारीबीच गत कात्तिक २० गते वृत्ति विकास, बढुवा लगायतका ४ बुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू फेरि सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । 

आन्दोलनले स्वास्थ्य सेवा नै प्रभावित भइरहेका बेला धरान उपमहानगर प्रमुख हर्क साम्पाङले उपकुलपतिको कार्यालयमै तालाबन्दी गरेका छन् ।प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि पहल गर्नुका सट्टा साम्पाङ किन तालाबन्दीमा उत्रिए त ? 

यसरी स्वास्थ्य सेवा नै ठप्प पारिँदा नागरिक निर्बाध स्वास्थ्य उपचार पाउने संवैधानिक हकबाट समेत वञ्चित भइरहेका छन्। प्रतिष्ठानको समस्या पहिचान गरी सुझाव दिन गठित तत्कालीन सचिव वैकुण्ठ अर्याल संयोजकत्वको समितिले २०७८ साउन १८ गते नै प्रतिवेदन बुझाएको थियो ।तर, समितिले नीतिगत सुधारका लागि दिएको विभिन्न सुझावसहितको प्रतिवेदन कार्यान्वयन नै हुन सकेको छैन । 

देशलाई आवश्यक स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति तयार गर्ने र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०५० सालमा स्थापना भएको थियो प्रतिष्ठान । तर, राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, आपसी द्वन्द्व र स्वार्थ पूरा गर्न पटक–पटक हुने आन्दोलनका कारण प्रतिष्ठान थिलथिलो त भएको छ नै, बिरामीलाई समेत सास्ती भएको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्याललाई बालुवाटार बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन् । प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक राखी शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update