जिल्ला अदालत काठमाडौंमा रिट निवेदन दायर गरिएको संवैधानिक कानून व्यवसायी मञ्च (क्लाफ)का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्नमा आज बुधवार सुनुवाई हुने भएको छ ।
अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चको विधानमा संवैधानिक कानूनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार एलएलएमको प्रमाणपत्र प्रस्तुत गरेको उल्लेख छ ।
गत शुक्रवार सम्पन्न मञ्चको २१औँ साधारणसभाबाट अध्यक्षमा अर्याल निर्वाचित भएका थिए । जसमा अर्यालले १२ मत प्राप्त गर्दा रिट निवेदनकर्ता अधिवक्ता लुइँटेलले पाँच मत प्राप्त गरेका थिए ।
साथै अर्का उम्मेदवार अधिवक्ता रुद्र शर्मा दुई मत प्राप्त गरेका थिए ।
आफू मञ्चको संस्थापक सदस्य भएको र वरिष्ठताका आधारमा समेत आफू अध्यक्ष हुनुपर्ने अधिवक्ता लुइँटेलले रिटमा माग गरेका छन् ।
विधानको धारा ९(क)मा संवैधानिक कानुनको विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कानून व्यवसायमा संलग्न वा सोही योग्यता पुगी संवैधानिक कानूनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ ।