Public Pana
ठमेलमा ड्युटीका प्रहरी जवानकै टाउकामा किक प्रहार गरेपछि

 ठमेल क्षेत्रमा ड्युटी खटिएका एक प्रहरी जवानको टाउकामै ‘किक’ प्रहार भएको छ। मध्यराति मदिरा सेवन गरेको समूहले बर्दीकै प्रहरीको टाउकामा किक हान्नुका साथै मोबाइलसमेत फुटाइदिएको पाइएको छ।

ड्युटीका प्रहरी जवानलाई नै कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–५ घर भएका ३३ वर्षीय पदम राई, नुवाकोटको ककनी गाउँपालिका–४ घर भएका ३२ वर्षीय अजय लामा र धादिङको खनियाबास गाउँपालिका–५ घर भएका २८ वर्षीय सुवास र अनिल भनेर चिनिने जीन गुरुङ छन्। 

 

उनीहरुले पुस ९ गते बिहानीपख ठमेलका सातघुम्तीस्थित १० एक्स क्लबको अगाडि प्रहरी जवान लोकबहादुर बुढामाथि आक्रमण गरेका थिए। मदिरा पिएर हो–हल्ला गर्दै हिँडेको अवस्थामा हो–हल्ला नगर्न भन्दा उनीहरुले प्रहरी जवान लोकबहादुरको टाउकामै किक प्रहार गरेका थिए। 

 

साथै यी तीन जनाको आक्रमणबाट प्रहरी जवान बुढाको भिभो कम्पनीको मोबाइलसमेत फुटेको थियो। हो–हल्ला गर्दै सार्वजनिक शान्तिमा खलल पुर्‍याएको र प्रहरीमाथि नै आक्रमण गरेको भन्दै तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ।

पक्राउ परेकामध्ये जीन यसअघि डाँका मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २ वर्ष कैद र २० हजार जरिवाना सुनाइएका व्यक्ति रहेको पाइएको छ। अजय लामा पनि यसअघि ठगी मुद्दामा ३ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाइएको व्यक्ति रहेको खुलेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update