Public Pana
प्रधानमन्त्री कप :  मधेशमाथि बागमतीको जित

लगातार दुई खेलमा पराजय ब्यहोरेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमीले मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकालेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशलाई १०४ रनमा अलआउट गर्न तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने तामाङ एक्लो खेलाडी हुन ।

तामाङले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

बागमतीका प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५ रन बनाएका थिए ।
मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २–२ विकेट लिए ।

राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १–१ विकेट लिए ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update