Public Pana
शेयर बजार साढे ५४ अङ्कले बढ्यो : ८ अर्ब रुपैयाँको कारोबार

शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ज्योति विकास बैंक बोन्ड २०८७ को शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ३३ लाख कित्ता शेयर ८ अर्ब २ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै उच्च हो ।

यसअघि २०७८ साल माघ २० गते ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update