Public Pana
साधारणसभाबाट घोराही सिमेन्टको १५ प्रतिशत लाभांश पारित

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९-८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०-८१ को मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् ।

आव २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पुँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।
त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । यो सँगै कम्पनीको संस्थापक समूहमा ५ जना सञ्चालक भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update