सत्ता गठबन्धनको एक घटन जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा मधेश र लुम्बिनी प्रदेश बाहेक अन्य प्रदेशमा गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष डा. सीके राउतले आज एक अपिल जारी गर्दै जनमत पार्टीले उम्मेदवार उठाएका ठाउँमा बाहेकका ठाउँमा वर्तमान सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।
तर मधेश र लुम्बिनी प्रदेशबाहेक अन्यमा जनमतको मतदाता रहेका छैनन् । जनमतको यो नैतिक समर्थन मात्र हुनेछ ।
उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीका तर्फबाट मधेशका उम्मेदवार रामशंकर महासेठ र लुम्बिनी प्रदेशका उम्मेदवार बालगोविन्द चौधरी थारूलाई मत दिन आग्रह गरेका छन् ।
राष्ट्रियसभामा सत्ता गठबन्धनले भागबण्डा गरेका १९ सिटमा जनमत पार्टीले पनि एक सिट दाबी गरेको थियो । तर माग सुनुवाइ नभएपछि मधेस र लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवार खडा गरेको थियो ।