Public Pana
महिला साफको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो।

च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबलको रौनक बढ्ने विश्वास व्यक्त गरे।

दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्।

समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन्। समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्।

प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिता सञ्चालनका एन्फाले झन्डै साढे तीन करोड रुपैयाँ लाग्ने अुनमान गरेको छ। एन्फालाई साफले २ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने संयोजक खड्काले जानकारी दिए।

एन्फाले प्रतियोगिता टेलिभिजन ब्रोडकाष्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङको अधिकार हन्ड्रेड स्पोर्टसलाई ६२ लाख रुपैयाँमा बिक्री गरेको छ ।

प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम नेपाल आइसकेको छ। बाँकी टिम आइतबारसम्म काठमाडौं आइपुग्ने संयोजक खड्काले जानकारी दिए।

प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फको टिकट दर ३०० र भीआईपीतर्फको प्यारापिटतर्फको टिकट दर ५०० रुपैंयाँ तोकिएको छ।

प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीको पनि अन्तिम नामावली सार्वजनिक भइसकेको छ।

नेपाली टिम

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनमजर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक

मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update