Public Pana
हुण्डी कारोबार गरेको आरोपमा झण्डै २२ लाख रुपैयाँ सहित दुईजना पक्राउ 

काठमाडौंमा हुण्डी कारोबार गरेको आरोपमा दुईजना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने वर्ष ३९ को भिमसेन गौतम र चितवनको राप्ती नगरपालिका–४ घर भई हाल सुकेधारा बस्ने वर्ष ४२ को राजु गौतम रहेका छन्।

उनीहरुको साथबाट २१ लाख ७२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले उनीहरुको खोजी गरेको गरेको थियो।

खोजतलास गर्ने क्रममा पुस २६ गते महाबौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले भिमसेन गौतमको साथबाट नेपाली एक हजार दरको नोट ६०० थान र ५०० दरको नोट ४०० थान गरी ८ लाख रुपैयाँ फेला परेको छ।

यस्तै, राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैंक तथा सहकारीहरुको १७ वटा चेकमा उल्लेखित रकम रु ७ लाख ९७ हजार फेला परेको छ।

यस्तै, राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट नेपाली एक हजार दरको नोट ३९ थान र ५०० दरको नोट १०७२ थान गरी जम्मा ५ लाख ७५ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update