दिनदिनै डरलाग्दा सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदसीय कार्यदल गठन गरेको छ ।
सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रवार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने, थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो ।
त्यसैगरी शनिवार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रृटि पत्ता लगाउन कार्यदल गठन गरेकोे मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताएका छन् ।
सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदसीय कार्यदल गठन भएको छ ।
संघिय सडक सुपरिबेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक ब्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।
कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको बिश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ । सडक दुर्घटना न्यूनिकरणका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव बिष्टले बताएका छन् ।
आजै बसेको सडक सुरक्षा परिषदको बैठकले पनि चार वटा निर्णय गरेको छ । मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा बिज्ञहरुको सुचि तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयक उपर समितिमा पठाउने निर्णय गरेको छ ।