Public Pana
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजार रुपैयँसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान नामावली खरिद, सवारीसाधन र इन्धन, प्रचार सामग्री, गोष्ठी अन्तर्क्रिरया, प्रचार कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनमा तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ ले रु. ३,५०,०००।– (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ । उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिरया, प्रचार–प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिनेछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्ने पनि आयोगले जनाएको छ ।

‘उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देश गर्दछ,’ विज्ञप्तिमा छ ।

यसैगरी निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोग निर्देश गर्दछ ।’

राष्ट्रिय सभाका १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदै छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update