Public Pana

हङकङवासी मास्टर रविनकुमार नाल्बो प्रमुख निर्माता रहेको चोकफुङ इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मित लिम्बू सांस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ को हङकङ ‘ग्रान्ड प्रिमियर शो’ हुने भएको छ।

गत शनिबार हङकङको जोर्डनस्थित चुम्लुङ हिममा आयोजित एक जानकारी सभामा निर्माता रविनकुमार नाल्बोले उक्त कुरा जानकारी गराएका हुन्। नाल्बोका अनुसार हुङ्होमस्थित प्रसिद्ध गोल्डेन हार्भेस्ट वाम्पोआ सिनेमा हलमा आगामी फेब्रुअरी १० मा प्रदर्शन गरिनेछ।

त्यसैगरी फेब्रुअरी १८ मा सिक्किम तथा मार्च २७ मा काठमाडौँ लगायत नेपालका विभिन्न सिनेमा हलमा चलिचत्रको प्रदर्शन गरिने भएको छ। साथै, बेलायत र अन्य स्थानमा समेत प्रदर्शन गरिने नाल्बोले बताए।

करोड रुपैयाँभन्दा माथि लगानी भएको उक्त चलचित्रमा लिम्बू भाषा, संस्कार, संस्कृति तथा परम्पराको सम्बर्द्धन र संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको नाल्बोले बताए।

लोकेन साँवाको कथा निर्देशन रहेको सुगुपको पटकथा देवेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई (वीरबहादुर) ले यसको छायाँकन गरेका हुन्।

यासेली योङहाङ र जानु काम्बाङको गीतमा अशोक लोहरुङ राईले संगीत भरेका छन् भने राजेशपायल राई, अन्जु पन्त, मनु नेम्वाङ, सुनिता थेगिम, भीम लिम्बू, रुक्मान लिम्बूको स्वर रहेको सुगुपको नृत्यनिर्देशन कमल राईले गरेका हुन्।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update