Public Pana
प्रधानमन्त्री कप : हिमांशुको अर्धशतकमा कर्णालीको पहिलो जित

हिमांशु शाहीको अर्धशतकमा गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पहिलो जित निकालेको छ। 

आज आइतबार भएको खेलमा कर्णालीले गण्डकीमाथि ७ विकेटको जित निकालेको हो।
जारी प्रतियोगितामा गण्डकी प्रदेशको लगातार दोस्रो हार हो। गण्डकी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो।

कर्णाली प्रदेश भने पहिलो खेलमा मधेश प्रदेशसँग ७ विकेटको हार व्यहोरेको थियो।

गण्डकीले दिएको १ सय २३ रनको सामान्य लक्ष्य कर्णालीले ३३.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
कर्णालीका हिमांशु शाहीले अर्धशतक पूरा गरे। ७१ बलको सामना गरेका शाहीले ५ चौका र २ छक्का मद्दतमा ५३ रन बनाउँदा क्याच आउट भए।

निश्चल रावल २९ र अर्जुन घर्ति १० रनमा नटआउट रहे।

ओपनर तथा कप्तान रविन्द्र शाही २० रनमा क्याच आउट भए। १९ बलमा १ चौका र २ छक्का हानेका शाही अंकित न्यौपानेको बलमा विकेट किपर समिर कँडेलको हातबाट क्याच आउट भए। विपिन शाही ६ रनमा विपिन शाहीको बलमा एलबीडब्लु धरापमा परे।

गण्डकीका अंकित न्यौपानेले दुई तथा विपिन खत्रीले एक विकेट लिए।

त्यसअघि भैरहवाको सिद्धार्थनगरमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।
खराब मौसमका कारण खेल ४५ ओभरमा छोट्टाइएको थियो।

गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रन बनाए। अश्वनी रानाले १६ रन थपे। कप्तान विपिन खत्री १० रन बनाउँदा क्याच आउट भए।
चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीका लागि अनुज चुनारा, दिपेश अधिकारी र दिपेन्द्र रावतले समान २ विकेट लिए। प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले समान एक विकेट लिए।

कर्णाली प्रदेशले मंगलबार सुदूरपश्चिमसँग खेल्नेछ। गण्डकीले बिहीबार सुदूरपश्चिमसँग नै खेल्ने तालिका छ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update