Public Pana
अनलाइन सेवाको गृहकार्यमा त्रिवि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अधिकांश काम घरमै बसीबसी अनलाइन माध्यमबाट गर्न मिल्ने व्यवस्था मिलाउने भएको छ ।

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्ने, रिटोटलिङ गर्ने लगायतका अधिकांश काम अनलाइन माध्यमबाट गराउने तयारी त्रिबिले गरेको हो । यसका लागि सबै तयारी पूरा भएको र जनशक्ति व्यवस्थापनको काम बाँकी रहेको त्रिबिले बताएको छ ।

हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरू आफैँ उपस्थित भएर बैंकमा पैसा जम्मा गर्नेदेखि फारम भरेर बुझाउने गर्नुपर्ने बाध्यता छ ।

अन्य सरकारी र निजी संस्थाहरूमा अनलाइनबाटै सबै काम हुने व्यवस्था भए पनि परीक्षा नियन्त्रण कार्यालयमा पुरानो र झन्झटिलो पद्धति नहट्दा विद्यार्थीहरू आजित हुँदै आएका छन् । कतिपय यही कामका लागि बिचौलियाको भर पर्नुपर्ने बाध्यता समेत छ ।

विद्यार्थीलाई परेको मारबाट आफूहरू जानकार रहेको भन्दै परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रविधिको उच्चतम उपयोग गरेर अनलाइन सुविधा सहितको सेवा प्रवाह गर्न जनशक्ति व्यवस्थापनको काम भइरहेको बताएका छन् ।

अनलाइनको माध्यमबाट काम भए ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, सक्कली प्रमाणपत्र, पुनर्योग, नाम सच्याउने र ती कामका लागि बैंकमा रकम जम्मा गर्ने लगायतका सबै काम विद्यार्थीहरूले घरमै बसीबसी गर्न सक्ने जोशीले बताए ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले माग गरेका प्रमाणपत्र उनीहरूको घरसम्मै पु-याइदिने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेको जोशीको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update