Public Pana
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी भएको छ ।

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो ।

आगजनीबाट ४० लाख बराबरको क्षति भएको थियो । यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । 

पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट ४० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए ।
त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा ८० लाख बराबरको क्षति भएको थियो ।

यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका– ५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो ।

‘सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ’, प्रहरी निरीक्षक मिश्रले भने ।

आगजनी गरेको आरोपमा  पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका– ५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् ।

पाँचै जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update