Public Pana
४० प्रतिशत माओवादीका कार्यकर्ताहरू निष्क्रिय

बामगती प्रदेशमा नेकपा माओवादी केन्द्रका ४० प्रतिशत कार्यकर्ताहरू पार्टी काममा सक्रिय नभएको पाइएको छ ।

पार्टी उपमहासचिव एवम् संगठन विभाग प्रमुख जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। 

शर्माले बालुवाटार पुगेर बुझाएको उक्त प्रतिवेदनमा शतप्रतिशत कार्यकर्तालाई पार्टी काममा सक्रिय बनाउन चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्। 
 

गत भदौदेखि जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियान समापन र समीक्षा बैठकसम्म आइपुग्दा पार्टी नेता कार्यकर्ताहरूको भूमिकाको ग्राउण्ड जिरो रिपोर्ट तयार गरिएको हो।
प्रदेश हुँदै स्थायी समितिमा आइपुगेको उक्त रिपोर्टबारे बैठकले गम्भीर छलफलसहित अन्तरपार्टी दुर्वलताका पक्षबारे सुक्ष्म विश्लेषणसहित भावी योजना बनाउने भएको छ।

उक्त अभियानका क्रममा आफूद्वारा स्थापित परिवर्तनकारी एजेण्डाहरूको पैरवी गर्न नसकेको, स्थानीयतहमा विकास निर्माणका कामको पहल लिन चुकेको र राम्रो कामको प्रचार पनि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। 

यी कुराहरूबारे बुझ्न नसक्दा प्रतिद्वन्द्वीले फाइदा लिएको पनि उल्लेख गरिएको छ। 

त्यस्तै सामाजिक–सांस्कृतिक संघ संस्थामा बलियो उपस्थितिका लागि उदाशीन रहँदा समुदायबाट पार्टी छुटेको निचोडमा उपमहासचिव शर्मा पुगेका छन्। उनले बागमती प्रदेशका सहरी क्षेत्रमा पार्टी केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेका छन्। 

कार्यकर्तातहबाट पार्टी निर्माणमा माथिल्लो तह गम्भीरतापूर्वक लागेकोमा पनि शंका गरिएको कुरा प्रतिवेदनमा छ। 

त्यसपछि बागमती इन्चार्ज शर्मा, उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन र सम्पर्क समन्वय प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलले कार्यकर्ताका प्रश्न, शंका र निराशासहितका विवरण पार्टी केन्द्रमा राख्ने भएका छन्। 

पार्टी कार्यकर्ताका कुरा जस्ताको तस्तै केन्द्रमा राखेर अबको कार्ययोजनामै समावेश भएर आउने आश्वासन शर्माले दिएका छन्। 

समीक्षा बैठकमा बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूले रुपान्तरण माथिबाट जरुरी रहेको निष्कर्ष निकालेका छन्। 

बैठकमा अवसरको न्यायोचित वितरण आवश्यक रहेको निचोड निकालिएको छ। 

उता सत्ता गठबन्धनको निरन्तरताले माओवादी कार्यकर्ताले आफ्नो चुनाव चिह्न हँसिया हथौडासमेत बिर्सिँदै गएको जस्ता विषय नेताहरूले बैठकमा उठाएका थिए।

उक्त कुरालाई पनि उपमहासचिव शर्माले प्रचण्डलाई बुझाएको प्रतिवेदनमा समेटेका छन्। 

यस पटकको तीन महिने अभियानका क्रममा बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको अवस्थाबारे ठोस तथ्यांकमा जोड दिएका थिए।

उनको जोडपछि पार्टी कमिटीका रिपोर्टहरू तथ्यपरक र तथ्यांकका आधारमा प्रस्तुत गरिएका पनि बताइएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update