Public Pana
माघमा हिउँदे अधिवेशन शुरु हुँदै

माघमा हिउँदे अधिवेशन शुरु हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् ।

आज शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।

उनले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन् । उनले नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताइन् ।

उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन् । मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवर्द्धनमा बढी ध्यान दिन आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘चलचित्र सम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानून मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ । त्यो स्वीकृति भएर आउने क्रम जारी छ । त्यो छिटै नै आउँछ र हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन शुरु हुन्छ । संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्र सम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौँ ।

यसबाट नेपालको चलचित्र क्षेत्रमा हामीले बनाउने कानूनले महत्वपूर्ण अर्थ राख्नेछ । अहिले प्रतिष्पर्धाको जमाना छ । नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ । विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्न योग्य हाम्रा चलचित्र बनाउनुपर्नेछ । अहिले हामीलाई बाहिरका चलचित्र चल्छन्, तर नेपाली चलचित्र चल्दैनन् भन्ने छ ।
कलाकारलाई समस्या छ । यो समस्या हटाउन हामीले छलफल गर्नुपर्छ । गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ । राज्यले पनि स्वदेशी चलचित्रको प्रमोसनका लागि के गर्दा फाइदा हुन्छ, त्यो विषयमा बढी ध्यान दिनुपर्छ ।’
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update