Public Pana
मेलम्चीको पानी सुरुङमा पठाइयो, सुन्दरीजल आइपुग्न चार दिन लाग्ने

भूकम्प अनि भ्रेमाथाङ बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ। सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ। माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ। 

परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो। तर  बिहीबारदेखि प्रतिसेकेन्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो।  परिमाण बढाउँदै दैनिक २ हजार प्रतिसेकेन्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ। 

 

२०७८ असार १ गते आएको भ्रेमाथाङको बाढीपछि मेलम्चीको पानी राम्रोसँग काठमाडौं पठाउन सकिएको छैन। सुरङ अन्तिम अवस्थामा काम भइरहँदा बाढी गएको थियो। बाढीले सुरुङ मार्गको हेडवर्क्स सहित धेरै संरचनामा क्षति पुर्‍याएको थियो। सोही कारण आंशिक रुपमा हिउँदमा मात्र पानी पठाउने कार्य हुँदै आएको थियो।

त्यस्तै गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगा सहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) अलपत्र परेको थियो। त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो। 

 

मेलम्ची विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो।

२०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update