Public Pana
भारतीय क्रिकेटर प्रविणकुमार जाे मदिराले सकिए , डिप्रेसन हुदै हरिद्धारसम्म पुगे

भारतीय टोलीका पूर्व क्रिकेटर हुन्, प्रवीण कुमार । कुनै समय अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय टोलीको बलिङ उनकै सेरोफेरोमा घुम्ने गर्थ्यो । उनले भारतका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । 

 

 

सन् २०१७ देखि उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । दायाँ हाते मध्यमतेज गतिका यी प्रभावशाली बलरले विभिन्न क्लबबाट चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलेका थिए । आईपीएलमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

प्रवीण कुमारले अन्तिम पटक सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध भारतका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । सोही वर्षको मार्चमा उनले पाकिस्तानविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसको एक वर्षअघि नै उनी टेस्ट टोलीबाट बाहिरिइसकेका थिए । 

व्यवसायी खेल जीवनबाट बिदा लिनुअघि उनले गुजरात लायन्सबाट आईपीएल खेलेका थिए । उनले उत्तर प्रदेशको टोलीबाट थुप्रै ‘लिस्ट ए’ प्रतियोगिता पनि खेलेका थिए । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि भने अहिले उनी गुमनाम जीवन बिताउँदै आएका छन् । 

उनीसँगै राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र विभिन्न क्लबबाट व्यवसायी प्रतियोगिता खेलेका अधिकांश पूर्वखेलाडी भने अहिले विभिन्न क्लबमा प्रशिक्षक र मेन्टरको भूमिकामा सक्रिय देखिन्छन् । तर, ३७ वर्षीय प्रवीण कुमारको भने खासै चर्चा सुनिँदैन । 

आफ्नो समयका यी प्रभावशाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि राष्ट्रिय टोलीबाट बाहिरिनु परेको थियो । आफू लयमा हुँदादेखि नै उनी अवसरहरूबाट वञ्चित हुँदै आएका थिए । अहिले पनि व्यवसायी क्लबहरू उनलाई प्रशिक्षक वा मेन्टरको भूमिकामा लिन हिचकिचाउँछन् ।

उनी आफैले पनि इन्डियन प्रिमियर लिगदेखि लिएर अन्य घरेलु व्यवसायी प्रतियोगिताहरूमा प्रशिक्षक वा मेन्टरको भूमिकामा सक्रिय हुने धेरै प्रयास गरे । तर, कुनै पनि क्लब उनलाई जिम्मेवारी दिन रुचाउँदैनन् । त्यसको कारण एउटै छ, प्रवीण कुमारको मदिरा प्रेम ।

हालै एक अन्तरवार्ताका क्रममा प्रवीण कुमारले आफ्नै साथीहरूले आफूमाथि मदिराप्रेमीको ‘ट्याग’ भिराउने काम गरेको गुनासो गरेका छन् । ‘ममाथि अनावश्यक रूपमा मदिरा पारखीको ट्याग लगाउने काम भयो । कतिपय साथीहरूले जानेरै यस्तो हल्ला फैलाएका थिए । त्यही ट्यागका कारण नै अहिलेसम्म पनि मैले अवसरहरूबाट वञ्चित हुनु परेको छ,’ उनले भनेका छन् ।

अन्तरवार्ताका क्रममा उनले बाहिरी हल्लालाई विश्वास गरेर नै क्लबहरूले अहिले पनि आफूलाई अवसर नदिएको बताएका छन् । ‘सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि आईपीएलको कुनै न कुनै क्लबले मलाई प्रशिक्षक वा मेन्टरको जिम्मेवारी दिने आशा गरेको थिएँ । अरु त टाढाको कुरा, मेरो आफ्नै उत्तर प्रदेश टोलीले पनि मलाई रत्तिभर विश्वास गरेन,’ उनले दुःखेसो पोखेका छन् ।

अत्यधिक मदिरा सेवन गर्ने भनेर आफ्नो विषयमा गलत हल्ला फैलाइएको गुनासो पनि उनले गरेका छन् । ‘मैले अत्यधिक मदिरा सेवन गर्छु भन्ने हल्ला फैलाइएको छ । हो म मदिरा सेवन गर्छु । मैलेमात्र होइन अधिकांश क्रिकेटरले मदिरा सेवन गर्छन् । अनि उनीहरूको चर्चा हुँदैन । मलाई मात्र किन बदनाम गरिन्छ ?’ अन्तरवार्ताका क्रममा उनले प्रश्न गरेका छन् ।

प्रवीण कुमारले आफूले कहिल्यै पनि अनुशासनको उल्लङ्घन गरेर मदिरा सेवन नगरेको दाबी पनि गरेका छन् । ‘म झुटो बोल्दिन । म मदिरा सेवन गर्छु । तर, मैले खेल मैदानमा वा ड्रेसिङ रूपमा कहिले मदिराको बोतल खोलेको छु ? मदिरा सेवन गरेर अनुशासन उल्लङ्घन गरेको कसैले देख्नुभएको छ ? अनि हल्लाको भरमा मेरो विषयमा गलत धारणा बनाउने अधिकार तपाइँहरुलाई कसले दियो ?,’ अन्तरवार्ताका क्रममा निकै भावुक रूपमा प्रस्तुत भएका उनले एकपछि अर्को प्रश्न गरेका छन् ।

उनले भारतका लागि ६ टेस्टको ११ पालीमा २७ विकेट लिएका छन् । देशका लागि ६८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उनले ७७ विकेट हात पारेका छन् । १० वटा टी–२० अन्तर्राष्ट्रियमा उनले आठ विकेट हात पारेका छन् ।

उनले प्रथम श्रेणीको क्रिकेटमा दुई सय ६७ र ‘लिस्ट ए’ प्रतियोगितामा पनि एक सय ८५ विकेट हात पारेका छन् । यसका अतिरिक्त उनी टोलीलाई आवश्यक पर्दा आक्रामक ब्याटिङ पनि गर्थे । आफ्नो १३ वर्ष लामो व्यवसायी खेलजीवनमा प्रवीण कुमारले माथिल्लो क्रममा ब्याटिङ गर्दै प्रशस्तै रन पनि बनाएका छन् ।

‘जब पहिलो पटक मैले राष्ट्रिय टोलीमा स्थान पाएँ त्यतिबेला धेरै सिनियर खेलाडीले मलाई मदिरा त्याग्न सल्लाह दिएका थिए । जबकि उनीहरू नै मदिरा सेवन गर्थे । मदिरा सबै पिउँथे तर बदनाम भने मलाई मात्र गर्थे, ’ उनले भनेका छन् ।

उनले हस्ता अनावश्यक हल्लाले आफ्नो व्यवसायी जीवन बरबाद गरेको र आफू डिप्रेसनको सिकार भएको पनि पनि बताएका छन् । ‘वास्तबमा यस्ता अनावश्यक हल्लाले नै मेरो सम्पूर्ण खेल जीवन बरबाद ग¥यो । म डिप्रेसनको सिकार पनि भएँ । केही समय म हरिद्वार गएर पनि बसेँ तर, कसैले मेरो बारेमा चासो राखेन,’ उनले दुःखेसो पोखेका छन् । एजेन्सीवाट 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update