Public Pana
केन्याविरूद्ध आसिफको शतकमा नेपालको जित

नेपालले घरेलु टोली केन्यालाई पहिलो एकदिवसीय खेलमा सात विकेटले पराजित गरेको छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए। उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए। यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले।

 आसिफ शेखले शेम न्गोचेलाई ४० औं ओभरको चौथो बलमा छक्का हान्दै १ सय १० बलमा शतक प्रहार गरेका थिए।

पहिलो विकेटका लागि आसिफ शेख र अर्जुन साउदले ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए।

अर्जुनले शेम न्गोचेलाई छक्का हान्दै ७७ बलमा अर्धशतक पूरा गरेका थिए। अर्जुन शेमको बलमा मिडअफमा क्याच आउट भएका थिए ।

ज्ञानेन्द्र मल्ल ५० बलमा १ चौकासहित २४ रनमा आउट भए । कप्तान रोहित पौडेल ३ रन र दीपेन्द्रसिंह ऐरी ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले। पटेलले ६७ रनको योगदान दिए भने ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३० तथा सचिन बुदियाले २६ रन बनाए।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने आदिल आलम र पवन सर्राफले समान १÷१ विकेट लिए।

यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। अब नेपालले भोलि केन्यासँग दोस्रो खेल खेल्नेछ।

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update