Public Pana
बम्जन पीडित किशोरीको बयान : पटक–पटक बलात्कार गरे, घटना बाहिर ल्याउन खोज्दा ८ लाख चोरीको आरोप लगाए

बाल यौन दुराचारको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। रेग्मीको इजलासमा बम्जनमाथि बयान सुरु गरिएको छ ।

त्यसपछि थुनछेक बहस हुनेछ । थुनकेछ सकिएपछि बम्जनलाई साधारण तारेख तथा धरौटी छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ । 
बम्जन पक्राउ पर्नुको मुख्य कारण बाल यौन दुराचार हो । बम्जनबाट आफू पीडित भएको भन्दै एक किशोरीले जाहेरी दिएकी थिइन् ।

बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक–पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातनासमेत दिएको आरोप छ । 

पीडित भनिएकी किशोरीसँग यसअघि नै प्रहरी तथा सरकारी वकिल पक्षले बयान लिएको थियो । बयानका क्रममा १४ वर्षकी ती किशोरीले बम्जनको ज्यादतीबारे बताएकी थिइन् । आफूमाथि पटक पटक बलात्कार भएको र बलात्कार सहन नसकेर आत्महत्याको प्रयास समेत गरेको बताएकी थिइन् ।

उनै बम्जनसहित तीन जनालाई प्रतिवादी बनाउँदै २०७७ असारमा जिल्ला अदालतमा बाल यौन दुराचारको मुद्दा दायर भएको थियो । जसमा बम्जनलाई १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको थियो ।

बयानमा किशोरीले आफूलाई बम्जनले पटक–पटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बयानमा बताएकी छन्। गुरु मानेको व्यक्तिबाट बलात्कृत भएपछि आफूले आश्रमभित्रै आत्महत्या गर्ने प्रयास पनि गरेको तर साथीहरुले थाहा पाएर सफल हुन नसकेको बयान उनले दिएकी छन्। 

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले आफू आश्रमबाट निस्कन चाहेको बताउँदा पटक–पटक कुटपीट गर्ने अनि मानसिक र शारीरिक यातना दिइएको पनि उल्लेख गरेकी थिइन् ।  बलात्कारपछि बम्जनकी श्रीमती दीपशिखा बम्जनले समेत कुुटपीट गरेको बयानमा उल्लेख  छ। 

२०७१ साउन २८ मा गुरुको दर्शनका लागि पुगेको आफूलाई बुबाले आनी बनाउन उक्त आश्रममा छाडेर गएको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा २ वर्ष बसेर सर्लाहीको पत्थरकोट आश्रममा पुगेको उनले बयानमा उल्लेख गरेकी छन्। ‘गुरुको उक्त कार्यको विरोध गर्दा एक्कासी बुबालाई झिकाएर ८ लाख चोरीको आरोप लगाए, अनि म र मेरो भाइलाई आश्रमबाट निकालिदिए,’ बयानमा उनले भनेकी छन्। 

यता सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ।

अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको घटनास्थलको मुचुल्कामा १८ वर्षकी अनुयायीलाई फकाएर काम छ भन्दै बोलाउने अनि कोठाभित्र छिरेपछि चुकुल लगाएर जबर्जस्ती गर्ने गरेको उल्लेख छ।  

सर्लाही लालबन्दी नगरपालिका १२ पत्थरकोटस्थित महासम्बोधी धर्म संघको आश्रममा रहेको टायलको छाना भएको २ तल्ले घरमा बम्जन बस्ने, खाने, पुजा गर्ने र सुत्ने कोठा रहेको प्रतिवेदनमा उल्लेख छ।

‘२०७३ साउन २० गते १८ वर्षकी ‘क’ (नाम परिवर्तन) लाई ललाईफकाई आफू सुत्ने कोठामा बोलाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कोठामा आएपछि बम्जनले चुकुल लगाए र कोठाभित्र रहेको प्लाष्टिकको कार्पेटमा लडाइ रुन–कराउन नदिई,  हार गुहार गर्न नदिई मुख थुनि दुवै हात समाएर जबर्जस्ती करणी गरेको,’ प्रतिवेदनमा उल्लेख छ।

पीडितका दाजुको बयान(मलाई तिम्रो शरीर चाहिन्छ भन्थे बम्जन 
बम्जनले आफ्नी बहिनीलाई पटक–पटक बलात्कार गर्ने गरेको बयान पीडितका दाइले दिएका छन्। उनले (अदालतको बयानमा ‘क ४’ नाम उल्लेख) गरेको कागजमा बहिनीलाई बम्जनले किचनमा सुतेको अवस्थामा बोलाएर बलात्कार गरेको उल्लेख छ।

‘मलाई तिम्रो शरीर चाहिन्छ भन्दै बम्जनले संवेदनशील अंगमा छुने, सम्सुम्याउने र फकाउने गरेको बहिनीले मलाई बताइन्,’ पीडित किशोरीका दाजुले भनेका छन्, ‘बम्जनले दिएको पीडा सहन नसकी काठमाडौं भागेर आएकी थिइन्।’ आनी बन्न गएकी आफ्नी नाबालक बहिनीलाई जबर्जस्ती करणी गरेकाले हदैसम्म सजाय हुनुपर्ने उनले गरेको बयानको कागजमा उल्लेख छ ।

उनै यौन दुराचारको आरोप लागेका बम्जनलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको ४ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update