Public Pana
यसअघि नै अदालतले रोक्का गरेको थियो बम्जनको सम्पत्ति, रामबहादुरसहित तीन जनाको मुद्दा न्यायाधी रेग्मीको इजलासमा

बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका ‘तपस्वी’ रामबहादुर (रामलाल) बम्जनको मुद्दा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश रेग्मीको इजलासमा बम्जनसहित तीन जनाको मुद्दाको सुनुवाइ हुने भएको छ ।

पक्राउ पूर्जी जारी भएपछि विगत चार वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले मंगलबार राति काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । 

बुधबार मध्य राति उनलाई सर्लाही पुर्याएको थियो । सर्लाही पुयाइएका उनलाई आज (बिहीबार) अदालतमा पेश गरिएको छ । बाल यौन दुराचारको आरोप लागेका बम्जनको अहिले न्यायाधीश रेग्मीको इजलासमा बयान भइरहेको छ ।

बाल यौन दुराचारमा बम्जनसहित तीन जनालाई प्रतिवादी बनाइएको छ। जसमा बमज्नसँगै मकवानपुरको थाहा नगरपालिका–७ घर भएका तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन, सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका जेबी गुरु भनिने जितबहादुर तामाङ प्रतिवादी छन् ।

तोप्चेङ महात्मा गुरु र जेबी गुरु भने अहिलेसम्म फरार छन् ।
बाल यौन दुराचारमा उनीहरुलाई १४ वर्षसम्म कैदको सजाय माग गर्दै जिल्ला अदालतमा यसअघि नै मुद्दा दायर भएको थियो । सोही मुद्दाका लागि अहिले बम्जनलाई अदालतमा उपस्थित गराएइको हो । 
बम्जनको सम्पति रोक्का
बम्जनको मुद्दा यसअघि नै १४ पटक पेशी चढिसकेको छ । जसक्रममा छैटौं पेशीको क्रममा एक वर्षअघि २०७९ माघ २४ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बम्जनसहित तीनै जना प्रतिवादीको सम्पत्ति रोक्का गर्ने आदेश गरेको थियो । 

अदालतको उक्त आदेशपछि यी तीनै जनाको सम्पत्ति किनबेचका लागि रोक्का गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update