Public Pana
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। 

नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। 

जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसलाअनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। 

सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन्। 

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्। 

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको थियो।  

 

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीले बयान दिएकी थिइन्। बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो। 

पीडित  किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। 

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बयानमा बताएकी थिइन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।

काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्राबास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन्।  

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। 

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए। 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update